Sunday, December 3, 2017

मिलन र बिछोडका सुस्केरा l



1
साइँली,
नौ डाँडा पारी सपनै सपना छ रे 
इन्द्रेणी रंग भर्न पाइन्छ रे
आकाशको तारा झैं झिलिमिली
खुशी नै खुशी छ रे
जाम न साइँली हामी पनि बसम 
तेही डाँडा पारीको चौतारीमा
अनि संगै नाचम्ला सारंगीको भाकामा
तिमी थाके म काँध दिम्ला
म थाके तिमी साथ
जाम है ?

2

अलिकति शब्द म भर्छु
अलिकति आवाज तिमि भर 
अलिकति जीवन संगै जिउँला
अलिकतिको यो जीवनमा l
उड्दै भेट्दै फेरि उड्दै छुट्टिने
यो अचम्मको जीवन न हो
अलिकति मुस्कान म हाँस्छु 
अलिकति खित्का तिमी हाँस
अलिकति आँसु संगै झारौंला
अलिकतिको जीवनमा l

हिमाल पारी तिम्रो गाउँ होला
यो नदि वारीको केहि क्ष्रणको राउटे म बनम्ला
अलिकति साथ म दिन्छु
अलिकति हात तिमी थाम
अलिकति आकाश एउटै हेरौंला
अलिकतिको यो जीवनमा l

आज छुट्टिए के भयो र 
भोलि फेरि संगै बाँचौन्ला नी 
अलिकति आशा तिमि बुन 
अलिकति सपना म बुनम्ला
अलिकति बिछोड तिमि हाँस
अलिकति मिलन म कोरम्ला 

अलिकतिको यो जीवनमा l
अलिकति जीवन संगै बिताम्ला l


3
आज निन्द्रा पर्या छैन l 

शब्द नि फुर्या छैन l
केहि सोच्या नि छैन l
सोच्न सक्या नि छैन l
लाग्छ ठुलो संसारको एउटा सानो कुनामा
म आफुले आफ़ुलाईनै हेरिराछु
छक्क परेर l
न त दिमागमा केहि छ
न नै त मनमा
मात्र पल्लो त्यो घरमा
कुक्कुर भुक्या भुकेइ छ एक्कोहोरो
झ्याल नेरी जुनकिरी किरमिर किरमिर गरेजस्तै 
एउटा स्वाश भित्र तान्यो
अर्को फेर बाहिर
अन्धकार सहरलाई एकटक नियाल्नु परेको शालिक झैं
म अकस्मात लाटो बन्या छु
बोलौं त के बोलौं,
को संग l
अझै निन्द्रा पर्या छैन आज l

4

प्राय जसो म एकटक कम्पुटर इस्क्रिन मैं टोलाऊँछु 
केहि नसोची एकटक 
एउटा तस्बिर 
अनि अर्को हाँसो 
केहि पर्खाई
अनि केहि चोट 
अहिलेको लागि एति नै हो मेरो जिन्दगीको मधुर रोमान्स 
मन भुल्याउने बाटो l


5
म ब्युझनु भन्दा ठिक अघि 
उनले मलाई सोधिन 
"सपना पारीको को यो अर्ध-सत्य राम्रो 
कि सपना वारी को त्यो पूर्ण बास्तविकता ? "

जवाफ दिनै नपाई म ब्युझेछु,
अब खै कुन चैं लाई सपनामा भनुँ
र कुन चैं लाई विपना
दुवै संसार जिउञ्जेल उति नै वास्तविक छन्
मात्र यति हो,
 संसारका धेरै नियमहरु छन्,
र संसारमा सायद भौतिकताको मात्र जित हुन्छ,
सायद हामीलाई यो असत्य सत्य लाग्छ
तर आखिर, के नै फरक पर्छ र,
चेतनशील मनका यी प्रतिबिम्बहरु पनि
कति सत्य छन्, कसलाई नै थाहा छ र !
र खै कुन चैं लाई सपना भन्ने
र कुन चैं लाई बिपना

यति मात्र बुझ
खोलाको बिचमा, किनारमा हैन, मात्र हामी छौँ
मात्र "हामी"
र किनारा-बिहिन यो खोला सत्य-असत्य जे भएनी
मात्र तिमी-र-म को यो समागम सत्य छ
हो मात्र "हामी" सत्य छौँ
र मात्र त्यहि सत्य राम्रो छ


6
निलो आकाश, इन्द्रेणी, अग्ला हिमाल, जंगल, उडिरहेका चरा-चुरुंगी, 

रंगी-विरंगी फुल, अनि सिमसिमे पानि मा भिज्दै हिंडेका बटुवाका अन्जान मुस्कान
अनि अरु धेरै कुरा हरु,
राम्रा देखिन्छन, धेरै नै राम्रा l
मात्र जब तिम्रो ओठमा मुस्कान रसाउँछ l
तिमी हाँसे संसारै राम्रो
रिसाए संसारै उदासिन l

2 comments:

  1. alikati chup lagera basya bhae sabse ramro hunthyo - eso lekhya matra padhna paun bhanne aasa cha

    ReplyDelete
    Replies
    1. Playing the audio is completely optional. :D

      Delete

Your comments here / You may post your comment as an anonymous...