Saturday, January 26, 2013

अन्धभक्त शालिक र बिचरो दैव

आकाश तिर एक्कोहोरिएको नजर

अनिश्चित अँध्यारोमा टोलाउँदै फेरी

सायद उज्यालो संगै

त्यो दैब हरायो कि भनि

धेरै बेर टोलाई आफ्नै सुरमा;

बिन्ति हो कि आशामा

टील पील टील पील ताराहरु,

ऊ जस्तै अनिश्चित भुमरीमा

न त हिड्न नै सक्ने,

न नै त भाग्ने

टाँसिएका, फुटेका,

यत्र-तत्र छरिएका,

जीवन सहितको निर्जीव

यही शालिक झैं





चौडा सडक,

अनगिन्ति पाइला

अनि सपनै सपनाको लहर

त्यहि मानब-सागरको बिच्चमा

शालिक टक्क अडिएको छ

अटल, केही बोल्ने इच्छा

तर सामर्थहीन

संसार हिडिरहेको छ,

दिन र रातको तालमेल मिलाउदै

तर ऊ त्यही कोलाहलमा,

बर्षौं देखि बाँचेकैछ

हलचल बिनाको जीवन,

उदाउँदो सुर्य संगै बिउझंदै

जून सँग झस्कंदै, आत्तिदै,

अनि रातभर शीतमा लतपत

मानौं शालिक रोइरहेकोछ,

तर भक्कानो फुटाउन असफल

ऊ अझै मग्न छ

प्रार्थनामा,



हो उसलाई शालिक भईरहने केहि रहर छैन

निस्सासिएकोछ

चिच्च्याउन चाहन्छ,

छटपटीएको उकुसमुकुस,

ज्वालामुखी फुटे झैं

रुन, हाँस्न, हो दगुर्न पनि,

अनि दङ्ग पर्दै बोल्ने रहर

उसका पनि त भावना छन्,

बेदना अनि पिडा,

पिंजडामा कुण्ठित मुटु मै पनि

यही सपनाले त उभिएकै छ,

भासिएकै धर्तीमा क्रमस टुक्रदै

उफ़्रन कहाँ सक्छ र,

मात्र आफ्नो विवसताको पानै-पाना

प्रार्थना कोरी

त्यही निभ्दै बल्दै, लुकामारी खेल्ने,

टील पील टील पील तारा झैं

अझै अडिग, नदेखिने दैवको आशमा,

तर दैव सँधै निष्ठुरी



मान्छेहरु शालिक झैं,

शालिकलाई नियाल्न खोज्छन

तस्विर खिचाउँदै, रमाउँदै,

अनि केहि पछि छुट्टीन्दै

मान्छेका निर्जिव आँखा,

स्वार्थ नै स्वार्थ मा डुबेका

बुझ्न असमर्थ

शालिकका भावनाका लहर



शालिक दिक्क छ,

किन फुट्दैन उसको स्वर,

मान्छे देखि वाक्क

ऊ त आखिर शालिक न हो,

ढुंगै ढुंगाको,

बाँधिएको मुख र ओठ

तर अचम्म,

मान्छेका ओठ पनि साँघुरिदैछन्,

निर्जिव उसका स्वर



मान्छेहरु पनि बिस्तारै शालिक हुँदै छन्,

शालिक भने अनविज्ञ छ

धेरै थरि मान्छे,

अर्कै थोरै किसिमका मान्छेका कटपुतली बनि,

त्यही धागोमा नाच्दै

चावी भरेर छोडेको खेलौना जस्तै,

नाच्छ जब सम्म त्यो शोषक चाहन्छ

पैसा नै खान्छ,

पै'सै देख्छ,

अनि पै'सैकै वारीपरि नाच्छ,

कालो मुस्लो धुँवा, धुलै धुलो अस्तव्यस्त,

दुर्गन्ध अनि पानि विनाका बगर,

दैव ताली पिट्छ

पाप र धर्मको हिसाब मिलानमा व्यस्त

अनि बेअसर, मस्त छ

आफ्नै मन्दिर, मस्जिद र चर्चमा



हो दैव पनि बाँच्न सकेनछ,

झोक्र्याएर,

रनभुल्लित,

अनि निर्जीव झैँ

अँध्यारो कालकोठरीमा कैद,

अब त मन्दिर पनि फुट्दैछ

अनि मस्जिद पनि

चर्च डलरको भाउ बिकेछ

अनि साधु लुटेराको भेषमा लुट्दैछ

अर्कै थरिका ती मान्छे कै पिंजडामा,

दैव आफैं निस्सासिएको छ

पागल झैं हिसाब गर्छ,

दङ्ग पर्छ र

झसङ्ग झस्किन्छ



दैव बिचरो शक्तिहीन,

मान्छेका स्वार्थका अगाडी

शालिक बनी;

आकाश तिर एक्कोहोरिएको नजर

अनिश्चित अँध्यारोमा टोलाउँदै फेरी

टील पील टील पील ताराहरुजस्तै

अनिश्चित भुमरीमा

न त हिड्न नै सक्ने,

न नै त भाग्ने

टाँसिएका, फुटेका,

यत्र-तत्र छरिएका,

जीवन सहितको निर्जीव

यही शालिक झैं

दैव रुन खोज्छ,

मान्छे रोकिंदैन,

ऊ नाचेकै छ अझै पनि

चावी भरेर छोडेको खेलौना जस्तै

ती अर्कै थरीका मान्छेका ताल मा



शालिक भने अझै अनविज्ञ छ,

बिचरो दैव को नै आशामा

प्रार्थनामा मग्न

आफ्नै सुरको विन्ती,

अन्धभक्ति मा

त्यही दैव लाई पर्खदै

निस्सासिन्दै

आत्तिदै

अनि रुझ्दै



देव भने मृत्युसय्यामा

लडेको छ,

रोईरहेको छ,

पश्चतापमा,

मान्छे किन बनाएँछु भनि