Monday, August 5, 2013

रुझेकी चरी ..

सायद ज्वरोको सुरमा होला, आज निकै अबेर सम्म सुतिएछ, र जब आँखा खुल्यो आकाश अझै रोइरहेको रहेछ | आज फेरि के पीर परेछ कुन्नि आकाशलाई | विचरा आकाश आफ्नो दुखः भुल्न टोल टोलमा लर्बरिन्दै हिंडेका जंड्याहा जस्तो मात्तिन पनि त सक्दैन, जाओस त कहाँ जाओस |
 
उठ्न मन लागेन | निधार छामे ज्वरो हटिसकेछ, तर जिउ आलस्य नै थियो, त्यसमाथि अझै सुतौं सुतौं लाग्ने मौसम l झ्यालको पर्दा उघारें, अनि मेरो छेउमै टोलाइरहेको मेरो प्रिय cam लाई नियालें | यत्तिकैमा मेरो आँखा पल्लो घरको झ्याल तिर गयो |



आज पल्लो घरकी चरी एक्लै परिछिन, पानीमा निथ्रुक्कै भिजेकी अनि अहिले ओत लागेकी | उसमा र म मा करिब १० मिटरको दुरी थियो तर म उसको मर्म यहीं मेरो भित्रि मनमा महसुस गर्न सक्थें | आज घर बाहिर पानि छेल्न चुपचाप बसेकी त्यो चरी सायद पानीमा भन्दा आँशुमा धेरै भिजेकी थिई, हरेक दिनको कलहलाई आज बिहानी पखको झरीले नसुनिने तुल्याइदिएको थियो, सायद त्यसैले होला म अबेर सम्म सुत्न सकेको, नत्र घाम झुल्किन साथ उनको चित्कारले मलाई ब्यूँझाउने गर्थ्यो |





अकस्मात चरी र मेरो आँखा जुध्यो, उसले मलाई केहि भन्न खोजे जस्तो, अनि म त्यसै टोलाए जस्तो, हाम्रा आँखा एक आपसमा अल्झिए | ति चरी र म एक आपसको बास्तबिकताबाट पूर्णत अपरिचित तर उसले केहि भने जस्तो लाग्यो "तिमि कति भाग्यमानी, तिमिले त यो पानीमा भिज्नुपर्या पनी छैन, अनि ओत लाग्ने आफ्नै कोठा, न्यानो ओछ्यान अनि कसै संग निर्भर नभईरहनुपर्ने कस्तो आनन्दको जीवन | "




हो उसको मन को त्यो भाव, उसको आँखा बाट देखिएको त्यो संसारमा यसो हेर्दा, म चैं चरा अनि उनि चैं पिंजडामा कैद निर्जीव शालिक देखिनु स्वाभाविक हो र त्यत्तिनै स्वाभाविक हो मेरो आँखाले देखाउने यो संसार त्यो संसार जस्तै नहुनु  | तर आज उसको रुझेको आँखामा सायद मेरो आफ्नै बास्तबिकता पनी लुकेको छ, सायद उसको आँखा रुझेकै छैन, मेरो आँखा पो रुझ्या हो कि ?

 

 
बिहानीको चिया ओछ्यान मै आइपुग्यो, पानि अझ बेस्सरी दन्किन थाल्यो, तर उसलाई देखिन...सायद उडिसकिछे | "जान्छु पनि भनिन, कति निस्ठुरी रैछ" म मनमनै बर्बराउन थालें l तर मलाई आश्चर्य चैं भएन |बानि परिसकेको छ, उनि भन्दा पनी धेरै नजिक भएकी अर्की चरी अस्ति त्यसै गरि टाढा भैसकेकीछिन्, त्यसैले यो कुनै नौलो कुरा भने हैन |  तर, यस्तो ठुलो झरीमा कता गईन् होली ?

एक छिन् पछि उसको चित्कार सुनिन्छ "म उड्न चाहन्छु मात्र उड्न "


 

 

 

 

 

 
 

No comments:

Post a Comment

Your comments here / You may post your comment as an anonymous...