Tuesday, January 17, 2012

देवघाट...एक प्रख्यात् डम्पिंग साईट


देवघाट आउने मेरो इच्छा अहिले देखिको हैन, म सानो हुँदा हजुरआमाबाट मैले यो ठाउँको बारेमा धेरै सुनेको थिएँ । त्यहि भएर एकचोटि यहाँ आउने इच्छा थियो । आज यहाँ आउने उपयुक्त दिन भयो, अनि म र मेरो बाईक हानिंयौं देवघाट तर्फ ।

नारायणघाटबाट देवघाट तर्फ लाग्दा हरियो नारायणी नदि देख्दा त म एकछिन् त्यसै लोभिएँ । नदि देख्दा मात्रै पनि कति शितलताको अनुभव हुन्छ । देवघाट पुग्ने वित्तिकै मेरो आँखा तल नदि किनार तिर गयो, जीवनको तितो यथार्थ तर्फ । बाईक पार्किंगमा राखेर म झुलुंगे पुलबाट नारायणी नदि तर्न थालें । झुलुंगे पुल मलाई धेरै मन पर्छ, पारि पुगुन्जेल मनमा एक किसिमको डर लागिरहन्छ । तल गहिरो खोला अनि तल कतै नअडिएको पुलमा हिंड्दा घरी घरी खसिने पो हो कि भन्ने डर लागि रहँदो रहेछ । सायद, यस्ता अनगिन्ति पुलहरु हामी हरेक दिन तरी रहेका हुन्छौ हाम्रो जीवनमां, अठोटको झुलुंगे पुल, सपनाको झुलुंगे पुल  ।

देवघाट ....

जता हेरे पनि वृद्ध–वृद्धा मात्रै देखिने । म भगवानमा खासै विश्वास नराखने मान्छे । भगवानको अस्तित्व मै प्रश्न चिन्ह लगाउने र हरेक कुरामा तर्क र कारण खोज्ने म जस्तो मान्छे पनि यहाँ अजिव किसिमको अध्यात्ममा हराउँदो रहेछ । जीवनको अन्तिम यात्रा यहिं विसाउन बसेका वृद्ध–वृद्धाहरु, वहाँहरुको भगवान प्रतिको अटुट विश्वास देख्दा म स्तब्द छु ।

जीवन भरी अनेकौं संघर्ष गरेर, आफ्ना छोरा छोरीलाई भरण पोसण गरेर, सान्सारिक जीवनमा हराएका मानिसहरु, आखिर जीवनको अन्तिम क्षणमा यसरी एक्लिएर भगवानको प्रतिक्षामा किन बसेका होलान् त ?

भगवानको सत्यता प्रति म अझै पनि विश्वस्त छैन, सायद यो मेरो नै कमजोरी हो । तर, भगवान सत्य नै भएतापनि, उनको भक्ति गर्ने समय भनेको जीवनको अन्तिम समयमा मात्रै हो भन्ने कुरा सँग म सहमत छैन । भगवान प्रतिको यो प्रगाढ आस्था जीवनको अन्तिम समयमा मात्रै किन?

भगवान प्रतिको यो आस्था र मुक्ति पाउने आसा त बहाना मात्रै हो, जीवनको सत्य सायद अर्कै छ....

म सायद भगवान भनिने अदृश्य शक्ति सँग परिचित नभएर होला, तर म संसारका जिउँदा मानवहरु सँग चैं राम्रैरुपमा परिचित छु ।

पाईलै पिच्छे मेरा दायाँ बायाँ वृद्धाआश्रमहरु फेरिंदै गए । तर दृश्य भने उस्तै नै रह्यो, वृद्ध–वृद्धाका उदासिन जीवन, या भनौं भक्तिपुर्ण जीवन ।

आखिर वृद्ध–वृद्धाहरु देवघाटमा चैं किन आएका होलान् त ? मेरो मनमा नमेटिने जिज्ञासा बस्यो । मैले यो बिषयमा वृद्ध–वृद्धाहरु सँग कुरा गर्ने निधो गरें । के वहाँहरु वास्तवमै आध्यात्मको कारणले यहाँ आउनुभएको हो त ? आध्यात्मिक जीवन त जहाँ बसेर पनि त बिताउन सकिन्छ, अनि फेरी किन देवघाट अथवा यस्तै अनगीन्ति तिर्थस्थलहरुको बास?

म फेरि पनि भन्छु,, भगवान प्रतिको यो आस्था र मुक्ति पाउने आश त बहाना मात्रै हो, जीवनको सत्य सायद अर्कै छ....

देवघाटमा प्राय तीन किसिमका वृद्ध–वृद्धाहरु बस्दा रहेछन् । १. कोहि पनि नभएका गरिबहरु २. कोहि पनि नभएका तर सम्पत्ति चैं भएका र ३. परिवारबाट नरुचाईएका वा भनौं निकाला गरिएका । यी तीनै किसिमका वृद्ध–वृद्धाहरु सँग मलाई मेरो जिज्ञासा पोख्न मन लाग्यो । आखिर जीवन भरी दुःख कष्ट झेलेर, अन्तिम समयमा चैं किन भगवान प्रतिको यो संयासी सरहको समर्पण ?


सावित्रि देवि, वर्ष ७८, स्यांग्जा 

विधवा वृद्धा, चाउरी परेको अनुहार, कमजोर शरीर र आँखा भरी निराशा । वहाँ देवघाट बसेको लगभग १० वर्ष बितिसकेछ । अनि  स्यांग्जाबाट किन देवघाट बस्न आउनुभएको नि भन्ने प्रश्नमा वहाँको जवाफ थियो, “सम्पत्ति भएर मात्रै के गर्नु बाबु, मेरा कोहि छैनन् । विधवाको जीवन सबैले तिरस्कार मात्रै गर्ने, अनि यहिं शान्ति पाएँ, यहिं नै बसें “

भगवति, वर्ष ८०, गुल्मी 

जीवनको अन्तिम समयमा पनि अझै संघर्षरत भगवति हजुरआमाको अवस्था देखेर मलाई धेरै माया लाग्यो । यो उमेरमा पनि वहाँ लठ्ठी टेकेर नारायणीको किनारमा केहि खोज्दै हुनुहुन्थ्यो ।

किन यहाँ आएर बस्नु भएको आमा ? “कहाँ जाऊँ त बाबु ?”

अनि हजुरको घर परिवार ?  “सबैले छाडेर गए ।”

विष्णु प्रसाद, वर्ष ६५, रिटायर्ड आर्मि, पर्वत 

“म विना सबैजना खुशी छन्, म पनि खुशी छु यहाँ ।” वहाँले सक्षेपमा आफ्नो जीवनी सुनाउनु भयो । छोरालाई धेरै माया गर्ने वहाँ अझै पनि परदेशबाट छोरा लिन आउला भन्ने आशामा हुनुहुँदो रहेछ ।


बाटाको पारी पट्टि बाँदरको एक झुण्ड थियो, अनि बाटो वारी एकपट्टि वृद्ध–वृद्धाहरुको समुह । मलाई किन किन ती बाँदरहरुको नियति र यी वृद्ध–वृद्धाहरुको अवस्था उस्तै लागेर आयो । बाँदरको त्यो हुल भगवानको कारणले नभई, सहरमा बसेका मान्छेहरु सँग मेल नखाएका, धपाईएका, हेला गरिएका, जिस्काईएका र तिरस्कार गरीएका र शान्तिपुर्ण जीवनयापन गर्न नपाएर यता हानिएका हुन् । उनिहरुको मुल बासस्थल त मानिसद्धारा खोसिएको छ । वृद्ध–वृद्धाहरुको जीवन पनि मलाई त्यस्तै लाग्यो । उनिहरु पनि समाजबाट कुनै न कुनै रुपमा अपहेलित भएरै यहाँ आएको पाएँ । कसैलाई बुहारीले देखिनसक्ने, कसैलाई समाजले विधुवा भनेर हेला गर्ने अनि कसैलाई खान लाउन नै मुश्किल पर्ने ।

सबै आमाबाबुहरुले आफ्ना सन्तानलाई अथाह माया गर्छन् । आफ्ना सन्तानलाई केहि हुन्छ कि भनेर सँधै चिन्तित रहन्छन्, अनि तिनै सन्तानहरु ठूला भएपछि भने आ–आफ्नो बाटो लाग्छन् । आफ्ना बाबुआमा प्रतिको कर्तव्य भन्दा पनि उनिहरुका सपना धेरै महत्वपूर्ण बन्दै जान्छन् ।

यदि अध्यात्मले मात्रै यी वृद्ध–वृद्धाहरुलाई यहाँ तानेको भए, किन मात्रै वृद्ध–वृद्धा, सबै उमेरका मानिसलाई ईश्वरले आफु तर्फ तान्नु पर्ने हो नि, हैन र ? वास्तवमा वृद्ध–वृद्धाहरु यहाँ स्वर्गको आशमा हैन, समाज र आफ्नै घरबाट पाईने निराशाबाट मुक्त हुन आएका हुन् ।

हामी अहिले युवा अवस्थामा छौं, कतिको सायद विवाह पनि भईसकेको छ होला र ती मध्ये धेरैका छोराछोरी पनि होलान्, हामी पनि यिनै वृद्ध–वृद्धाहरुले जस्तै आफ्ना सन्तानलाई अथाह प्रेम गर्छौं... छोराछोरीको माया ।

आर्थिक उन्नति र प्रगतिमा हामी यति धेरै व्यस्त हुन्छौं कि आफ्ना बुवाआमालाई हामी बोझका रुपमा लिन थाल्दछौं । जति जति हाम्रो उन्नति हुँदै जान्छ, वहाँहरुको अर्ति उपदेश हाम्रा लागी किचकिच बन्दै जान्छ, वहाँहरुको उपस्थिति हाम्रालागि क्रमशः बोझ बन्दै जान्छ, अनि विस्तारै हामी आफ्नै हातले आफ्नै बुवाआमाका लागि वृद्धाआश्रमको ढोका खोल्दैजान्छौं ।

वृद्धाआश्रममा वृद्ध–वृद्धाहरुलाई खान बस्न र लाउन जे जस्तो समस्या परे या नपरेपनि वा मृत्युको प्रतिक्षामा बस्दा अनेक कठिनाईको सामाना गर्नुपर्ने वा नपर्ने भएपनि, वहाँहरुलाई यो सब भन्दा पनि बढि मायाको खाँचो भएको मैले पाएँ।

हाम्रालागी त देवघाट जस्ता तिर्थस्थल र वृद्धाआश्रमहरु एक किसिमको डम्पिंग साईट भएको छ । वृद्ध–वृद्धाहरुलाई पाखा लगाउने डम्पिंग साईट ।

अन्ततः मैले अनुभव गरें, देवघाट भगवानकै ठाउँ रहेछ तर त्यो अदृश्य भगवानको भने हैन, यीनै वृद्ध–वृद्धारुपी भगवानको देहवसान हुने ठाउँ । हामीलाई जन्माएर, हुर्काएर, योग्यबनाउने यी वृद्ध–वृद्धाहरुनै वास्वविक ईश्वर हुन् । हामी वास्तविक भगवानलाई पाखा लगाएर, खै कुन चाहिं भगवान मुर्तिमा खोजिरहेका छौं ।

एकदिन त सबैले बुढो हुनै पर्छ, त्यसपछि हाम्रो बाटो पनि सायद त्यहि आध्यत्म तिर नै त जान्छ होला । हाम्रा छोरा छोरीले पनि त यहि नै सिक्नेछन । एकदिन हाम्रा लागी पनि यो डम्पिंग साईटको ढोका खुल्ला हुनेछ । अखिर हामीले यहि नै सिकाई रहेका छौं आफ्ना सन्ततिलाई । यस्तै नै हुनेछ जब सम्म हामी आफैं उदाहरणीय बन्दैनौं ।

मलाई सबैले देवघाट गयो भने विरक्त भईन्छ भन्ने गरेका थिए, तर मैले जीवनलाई नयाँ रुपमा बुझ्न मौका पाएँ र मेरो लागि जीवन झनै सरल तर अनौठो भएको छ ।

सबैकुरा सरकारको मात्रै जिम्मा लाएर भएन, लौ अब आफैं पनि त केहि गरौं, र यसको सुरुवात आफ्नै घरबाट गरे राम्रो । विग्रिसकेको कुरालाई त सपार्न धेरै गाह्रो पर्ला तर नबिग्रेको कुरालाई चैं बचाऔं । भगवानलाई हैन आफ्ना बुवाआमालाई खुशी बनाऔं ।

खाना, बस्न मात्रै हैन, माया पनि बाँटौ ।

सबैलाई चेतना भया ।


The video presentaton below is a small effort to bring awareness, with a message "Let's care for our parents, let's not abandon them". Pictures are taken from various Internet sites.



1 comment:

  1. साह्रै नै राम्रो कुरा कोर्यौ भाई तिमीले आशा छ सबै ले तिम्रो यो सन्देश बुझ्छ, तर बुझेर मात्र पुग्दैन यस्लाई आँफैबाट सुरु गर्नु पर्छ |

    ReplyDelete

Your comments here / You may post your comment as an anonymous...